You are viewing the translated version of हेरचाह केन्द्र, दिवा सेवा केन्द्र रु सेवा केन्द्रमा हुनु पर्ने न्यूनतम पूर्वाधार, मापदण्ड तथा सुविधा.

Schedule 2
हेरचाह केन्द्र, दिवा सेवा केन्द्र रु सेवा केन्द्रमा हुनु पर्ने न्यूनतम पूर्वाधार, मापदण्ड तथा सुविधा

हेरचाह केन्द्र, दिवा सेवा केन्द्र रु सेवा केन्द्रमा हुनु पर्ने न्यूनतम पूर्वाधार, मापदण्ड तथा सुविधा
१. कम्तीमा दश जना ज्येष्ठ नागरिकलाई आश्रय दिने हेरचाह केन्द्रमा देहायका पूर्वाधार तथा सुविधा भएको हुनु पर्नेछ र दश जना भन्दा बढी ज्येष्ठ नागरिकलाई आश्रय दिने भएमा पूर्वाधार तथा सुविधा पनि सोही अनुपातमा बृद्धि गर्नु पर्नेछः–
(क) प्रत्येक ज्येष्ठ नागरिकका लागि कम्तीमा चालीस वर्ग फिट सतह पर्ने गरी कोठाको व्यवस्था भएको,
(ख) ज्येष्ठ नागरिक मैत्री भवन भएको र भवनको कम्पाउण्डको क्षेत्रफल भवनले ओगटेको क्षेत्रफलको कम्तीमा दोब्बर भएको,
(ग) पति पत्नीको हैशियतमा एकैसाथ रहेका ज्येष्ठ नागरिक भएकोमा बाहेक महिला र पुरुषको बसोबासका लागि छुट्टा छुट्टै कोठाको व्यवस्था भएको,
(घ) देहायका सुविधाहरु भएकोः
(१) कम्तिमा दुईवटा शौचालय, (महिला पुरुषका लागि अलग अलग)
(२) कम्तीमा दुईवटा स्नान गृह, (महिला पुरुषका लागि अलग अलग)
(३) भान्छा/भण्डार कक्ष,
(४) भोजन कक्ष,
(५) अध्ययन कक्ष/टी.भी. कक्ष
(६) प्राथमिक उपचार कक्ष,
(७) प्रतीक्षालय,
(८) पुस्तकालय, वाचनालय,
(९) व्यायामशाला, पौडिपोखरी, खुलाचौर मध्ये कम्तिमा कुनै एक क्रिडास्थल ।
(ङ) स्वच्छ पिउने पानीको व्यवस्था भएको,
(च) भवनका कोठाहरुमा हावा र प्रकाशको पहुँचका लागि पर्याप्त झ्यालहरू भएको,
(छ) खाना पकाउने तथा खुवाउने, सर सफाई गर्ने ब्यक्ति लगायत आवश्यक कर्मचारी, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र हेरचाहको लागि आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था तथा समय समयमा प्रशिक्षण तथा प्रवचनको लागि समेत आवश्यक व्यवस्था भएको,
(ज) दीर्घ रोगी, सरुवा रोग लागेको अशक्त ज्येष्ठ नागरिकलाई बस्नको लागि (त्यस्तो रोगउपर ध्यान दिई) छुटृै प्रवन्ध भएको ।
२. कम्तीमा बीस जना ज्येष्ठ नागरिकलाई सेवा दिने दिवा सेवा केन्द्र र सेवा केन्द्रमा देहायका पूर्वाधार तथा सुविधा भएको हुनु पर्नेछ र बीस जना भन्दा बढी ज्येष्ठ नागरिकलाई सेवा दिने भएमा पूर्वाधार तथा सुविधा पनि सोही अनुपातमा वृद्धि गर्नु पर्नेछः–
(क) दुई रोपनी क्षेत्रफलमा आवश्यकता अनुसार ज्येष्ठ नागरिक मैत्री भवन र फर्निचरहरु भएको,
(ख) देहायका सुविधाहरु भएकोः–
(१) शौचालय,
(२) स्नान गृह,
(३) भान्छा/भण्डार कक्ष,
(४) भोजन कक्ष,
(५) अध्ययन कक्ष/टी.भी. कक्ष,
(६) प्राथमिक उपचार कक्ष,
(७) प्रतीक्षालय,
(८) पुस्तकालय ।
(ग) स्वच्छ पिउने पानीको व्यवस्था भएको,
(घ) भवनका कोठाहरुमा हावा र प्रकाशको पहुँचका लागि पर्याप्त झ्याललहरु भएको ।